Thursday, 20 July 2017

किरात के हो ? यसको बिकास कसरी भयो ?

   किरात धर्म आफै मा एउटा सिंगो मानव सभ्यताको इतिहासको एउटा जीवित र्दशन हो। यो धर्म कुनै जात, जाति, समुदाय विशेषमा मात्र आधारित छैन। यो व्यापक छ। यो आफैंमा एउटा जीवन पद्धति हो। किरात धर्म अवलम्बन गर्न किराती समुदायको हुनुपर्छ भन्ने जरुरी छैन। धर्म भनेको धारणा हो। बेबिलोन मेसोपोटामिया सभ्यताकालीन अवस्थामा किरातीहरुले अवलम्बन गरी आएको धर्मको कुनै नाम थिएन। उनीहरु शुरुमा आत्मान्तर अस्तित्ववाद वा आत्मवादमा विश्वास राख्थे। र कालान्तरमा उनीहरुको सभ्यता, भोगाइ, सोचाइ वा जीवन पद्धतिहरु विकास गर्दै र अनुशरण गर्दै आउने क्रममा किरात धर्मको विकास हुन गएको हो। त्यस अर्थमा किरातीहरु किरात धर्मावलम्बी हुन पुगेका छन्। यो दर्शन, सभ्यता वा सोचाइलाई अनुशरण गर्दै आउने समुदाय वा जातिहरु प्राचीन जाति हुन् भन्ने कुरो इतिहासकारहरुले स्वीकार गरेका छन्। यसबाट किरात धर्म प्राचीन धर्म हो र किरातीहरु पनि प्राचीन जाति हुन् भन्ने कुरा स्पष्ट हुन आउँछ।

किरात धर्म इसाई, इस्लाम वा बौद्ध धर्मजस्तो कुनै एक व्यक्तिबाट घोषित धर्म नभएर पुर्खाहरुको हजारौं वर्षको भोगाइले जीवन र जगतप्रतिको बुझाइ वा हेरेको निचोड हो। किरात धर्मको पवित्र ग्रन्थ मुन्धुम हो। मुन्धुम त्यही हजारौं वर्षको पुर्खाहरुको भोगाइ वा जीवन र जगतप्रतिको बुझाइले सिर्जना गरेको नियमहरुको संग्रह हो। यसरी हेर्दा किरात मुन्धुम एउटा सिंगो किरात सभ्यताको इतिहास हो।

किरात मुन्धुममा सिंगो सृष्टिको वर्णन छ। मुन्धुममा पृथ्वीको उत्पत्ति र त्यसपछि क्रमश: वनस्पति, जीवजन्तु तथा मानिसको सृष्टिको कथा वर्णित छन्। मुन्धुमका यी कथाहरु पुर्खाको जीवन भोगाइमा आधारित छन्। त्यस्ता कथा, किंवदनतीहरु काल्पनिक संसारमा आधारित नभई यही धर्तीका खोलानाला, डाँडापाखा, गुफा, पोखरी तथा किरातीहरुले मान्दै आएको ऐतिहासिक स्थलहरुमा आधारित छन्। किरात भाषाकै ‘मुन’ र ‘दुम’को संयोजनबाट बनेको मुन्धुमको अर्थ गतिशील प्रकिया भन्ने हुन्छ। यसको अर्थ मुन्धुम कुनै एतिहासिक कहानी मात्र नभएर जीवन दर्शन हो। एक गतिशील प्रक्रिया हो। यसले मानिसलाई समय र परिस्थितिअनुसार चल्न प्रेरित गर्दछ न कि परम्परागतरुपमै रहिरहन बाध्य तुल्याउँछ। प्राचीन समयदेखि नै किरात समाजमा मुन्धुम दुई विधामा मौलाएर आएको पाइन्छ। चिन्तन, मनन र कुनै पनि कर्मको अनुभवद्वारा प्राप्त गरेको परोपकारी ज्ञानलाई मानव समाजमा मुखाग्र अभिव्यक्त गर्न सिकाउनु, बुझाउनुलाई थुक्साप मुन्धुम भनिन्छ। प्रकृतिको सिर्जनात्मक संसारलाई परोपकार पेसाप मुन्धुम भनिन्छ। मुन्धुम आफंैमा एउटा साहित्य कोष पनि हो। किरात मुन्धुम सिंगो किरात सभ्यताको इतिहास हो। किरात मुन्धुमको सृष्टि वर्णन विज्ञान सम्मत छ।

1 comment: